तपाईंको घरले तपाईंलाईबिरामी बनाइरहेको छ ! सुन्दा अचम्म लाग्ला । तर, घरमा हुँदा घाँटी खसखस हुने अथवा बाहिरबाट फर्किनासाथ टाउको दुख्ने वा रिंगटा लाग्ने हुन्छ भने तपाईंको घरभित्र बिरामी बनाउने कारक तत्व छन् भनेर बुझ्नुपर्छ । हावाको गुणस्तर, ढुसी आदिले गर्दा यसो भएको हुन सक्छ । वयस्कभन्दा बच्चालाई संक्रमणको जोखिम बढी हुने गर्छ ।
घरमै भएका कतिपय चिजको प्रयोगले वा त्यसको उपस्थितिले हामी बिरामी परिरहेका हुन्छौँ । चुहावट हुने पाइप, प्रदूषित हावा आदिले बिरामी महसुस गराउन सक्छन् ।
आफू र परिवारलाई स्वस्थ राख्न चाहनेले कुन चाहिँ वस्तु कारक तत्व बनेर बिरामी बनाइरहेको छ भनेर पहिचान गर्नुपर्छ ।
कैँची र चक्कु
भान्छाका फोहोर उपकरण बिरामी बनाउन सक्ने मुख्य चिजवस्तु हुन् । खाना पकाउने भाँडा, थाल, कचौरा, गिलासलगायत प्रयोगपछि माझ्ने गरिन्छ । तर, कैँची, चक्कु लगायतमा खासै ध्यान दिइँदैन । भान्छामा विभिन्न मसाला र सामानका प्याकेट, तरकारी, मासुलगायत खानेकुरा काट्न चक्कु र कैँची प्रयोग गरिन्छ । प्रयोग गरेपछि हरेक पटक यी सामान सफा नगर्दा तिनमा कीटाणु उत्पन्न हुन्छन् । तिनले मानिसलाई बिरामी बनाउने गर्छन् । फोहोर उपकरणमा रहेका ब्याक्टेरियाले खानालाई विषाक्त बनाउँछन् । भान्छाकोठालाई कीटाणुमुक्त बनाउन कैँची, चक्कु लगायतलाई प्रयोग गर्नासाथ राम्रोसँग धुने गर्नुपर्छ ।
स्पन्ज
भान्छा जतिसुकै सफा र चिटिक्क देखिए पनि त्यहाँ विभिन्न कीटाणुको बास हुन्छ । चक्कु, कैँचीजस्तै भाँडा माझ्दा प्रयोग हुने स्पन्ज पनि कमै सफा गरिन्छ । स्पन्ज सधैँ साबुन पानीमा भिज्ने हुनाले त्यसको सफाइ गरिँदैन । तर, स्पन्जमा थुप्रै ब्याक्टेरिया रहेका हुन्छन् । भाँडा माझ्दा कीटाणु स्पन्जबाट भाँडामा सर्छन् । ती कीटाणुले मान्छेलाई बिरामी बनाउने गर्छन् । त्यसैले प्रयोग गरेपछि स्पन्जलाई राम्रोसँग सफा गर्नुपर्छ ।
धारामा धोएर त्यसको पानी निचोरेर हावामा सुकाउनुपर्छ । अथवा, माइक्रोवेभमा ३० सेकेन्डजति राखेर पनि सुकाउन सकिन्छ । यसो गर्दा कीटाणु मर्ने गर्छन् । साथै, प्रत्येक तीन वा चार हप्तामा स्पन्ज बदल्नुपर्छ ।
भ्याकुम क्लिनर
घर सफा गर्न भ्याकुम प्रयोग गरिन्छ । तर, त्यसै भ्याकुम क्लिनरले हावामा कीटाणु फैलाएर मानिसलाई बिरामी बनाउन सक्छ । यस्ता उपकरणले कोठा भित्रको हावालाई दूषित बनाइ श्वास फेर्न गाह्रो गर्छ र श्वासप्रश्वाससम्बन्धी विभिन्न रोग निम्त्याउन सक्छ । भ्याकुम क्लिनरको ब्यागको फोहोर नियमित रूपमा फाल्नुपर्छ । भ्याकुमको सहायताले कार्पेट वा कुसनतिर सफा गर्दा त्यसले फोहोरसँगै धुलोका कण, कीटाणुलगायत छोड्छ । पुरानो र सफा नगरिएको फिल्टरले गर्दा ब्याक्टेरिया फेरि हावामै फेलिन्छ । त्यस्तो दूषित हावामा सास लिँदा गम्भीर प्रकारको एलर्जी हुन सक्छ ।
घरभित्र रहेका कैँची, चक्कु, स्पन्ज, भ्याकुम क्लिनरलगायत चिजवस्तुले मानिसलाई बिरामी बनाइरहेका हुन्छन् । नियमित सरसफाइ गरी कीटाणुरहित बनाइ तिनको प्रयोग गर्नुपर्छ ।
मेकअप ब्रस
मेकअप गर्दा प्रयोग हुने ब्रस पनि ब्याक्टेरियाको उद्गमस्थल हुन सक्छ । मेकअप ब्रस आँखा र छालामा प्रयोग गरिन्छ । फोहोर मेकअप ब्रसले जटिल किसिमको संक्रमणको जोखिम बढाउँछ । प्रयोग गरेपछि मेकअप ब्रसलाई साबुनपानीमा धुनुपर्छ । फोहोर ब्रसका कारण एलर्जी वा अन्य संक्रमण देखापर्न सक्छ । जस्तोसुकै स्वास्थ्यसम्बन्धी समस्याबाट टाढा रहन यस्ता ब्रसलाई हप्तैपिच्छे सफा गरी स्यानिटाइज गर्नुपर्छ । साथै, आफ्नो मेकअप ब्रस कहिल्यै अरूलाई प्रयोग गर्न दिनु हुँदैन ।
रिमोट कन्ट्रोल
टेलिभिजनमा आफ्नो मन पर्ने कार्यक्रम हेर्दा स्न्याक्स खाँदै हेर्ने बानी छ भने त्यो एकदमै गलत हो । घरमा प्रायःजसो सफा नगरिने चिजमा रिमोट कन्ट्रोल पनि पर्छ । बिरामी बनाउन सक्ने घरका सामानमा रिमोट पनि एक हो । खाजा वा खाना खाँदै टीभी हेर्दा च्यानल बदलिने क्रममा तपाईं कीटाणुको प्रत्यक्ष सम्पर्कमा आउनुहुन्छ ।
रिमोट कन्ट्रोललाई सफा र कीटाणुरहित राख्ने उत्तम तरिका भनेको हप्तामा वा केही दिनको फरकमा कीटाणु प्रतिरोधात्मक वाइप्सले सफा गर्नुपर्छ । त्यस्तै, ल्यापटप किबोर्ड, स्मार्टफोन, हेडफोन, ढोकाको ह्यान्डललगायत पनि बेला–बेलामा सफा गरिराख्नुपर्छ ।
बाथरुम सावर
बाथरुम नियमित सफा गरिने ठाउँ हो । बाथरुमको भुइँ, कमोड, सिंक आदिको सफाइ गरे पनि सावरमा कमैको ध्यान जाने गर्छ । सावरमा सूक्ष्म कीटाणु र अन्य स–साना हानिकारक तत्व रहेका हुन्छन् । तिनले खोकी, आँखा चिलाउने, श्वास बढ्ने, रुघा लाग्ने आदि समस्या निम्त्याउन सक्छन् । यस समस्याबाट छुटकारा पाउन स्पन्जको सहायताले साबुनपानीले मज्जासँग सावरका पाइप, त्यसको टाउको सफा गर्नुपर्छ । त्यसपछि भिनेगरलाई पानीमा मिसाएर सावरको पाइप र त्यसको सम्पूर्ण भागलाई पखालेर पनि यसलाई कीटाणुरहित बनाउन सकिन्छ ।
पर्फ्यूम र अन्य रासायनिक पदार्थ
एअर फ्रेसनर र सफाइमा प्रयोग हुने अन्य सामान खतरनाक रसायन मिसिएर बनेका हुन्छन् । तिनले घरलाई सफा र सुगन्धित त बनाउँछन्, तर वातावरणलाई हानिसमेत पु¥याउन सक्छन् । छालाको संक्रमण र श्वासप्रश्वासमा समस्या देखिन सक्छ । कीटनाशक रसायन प्रयोग गर्नुको साटो प्राकृतिक पद्धतिले सरसफाइ गर्नु ठीक हो । भिनेगर प्रयोग गर्दा कुनै प्रतिकूल प्रभाव पर्दैन । त्यस्तै, बेकिङ सोडा प्रयोग गरी सफाइ गर्न सकिन्छ । यसै गरी सावधानी अपनाएर फर्निचर, दराज आदिको सफाइ गर्नुपर्छ ।
हावटयुक्त प्लम्बिङचु
ढुसी पलाउनको लागि चिसो र ओसिलो ठाउँ हुनुपर्छ । त्यसलाई बल पु¥याउने काम खराब प्लम्बिङले गर्छ । पाइपमा हुने चुहावटले भुइँ र भित्तामा दाग बनाउने, पानीको क्षति गराउनुका साथै भित्तामा ओस लाग्ने र ढुसी पलाउन थाल्छ । जसले घरमा बस्ने मानिसमा गम्भीर प्रकारको एलर्जी पैदा हुन्छ । जमेर बसेको पानीमा कीटाणुले प्रजनन केन्द्र बनाउँछन् । कीटाणु र ढुसीको गन्धले मानिसलाई बिरामी पार्न सक्छन् । त्यसैले पाइपमा चुहावटको समस्या देख्नासाथ ठीक गरिहाल्नुपर्छ ।
कार्पेट
कार्पेटले घरलाई आकर्षक देखाउँछ तर त्यसमा धुलोका कण, कीटाणु, मान्छेको छालाका मृत कोशिका प्रशस्तै जमेका हुन्छन् । ती सजिलै हट्दैनन । राम्ररी सरसफाइ नगरेसम्म यसबाट पार लाग्दैन । घरमा बस्ने मानिस पटक–पटक बिरामी परिरहन्छ । कार्पेटको पनि समय–समायमा सरसफाइ गरिरहनुपर्छ ।
यसरी जीवनशैलीमा उपयोगी चिजवस्तुले नै मानिसलाई बिरामी बनाउन सक्छन् । त्यसैले नियमित सरसफाइ गरी कीटाणुरहित बनाइ तिनको प्रयोग गर्नुपर्छ ।