भव्य भौतिक संरचना बनाउँदैमा घर पूर्ण हुँदैन । सपनाको घरलाई पूर्णता दिन आकर्षक रङ प्रयोग गर्नुपर्ने हुन्छ । सही रङ छनोट गरे घर सुन्दर मात्र बन्दैन, बलियो पनि बन्छ । बजारमा दर्जन हाराहारी कम्पनीका धेरै प्रकारको रङ उपलब्ध छन् । घरको बाहिर लगाउने र भित्र कोठामा लगाउने रङ फरक–फरक हुन्छ । घरको बाहिर घाम र पानीले नबिग्रिने खालको रङ लगाउनुपर्छ । बजारमा बाथरुम, भान्छालगायत कोठैपिच्छे लगाउन फरक–फरक खालका रङ उपलब्ध छन् ।

‘घरमा कस्तो रङ कति मात्रामा लगाउनुपर्छ ?’ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । कुन कोठामा कस्तो गुणस्तरको रङ लगाउनुपर्छ जानकारी पनि नहुन सक्छ । बजारमा झट्ट हेर्दा जुन रङ राम्रो लाग्यो, त्यही किनेर लगाउनु ठीक होइन । रङका प्रकार र तिनका विशेषता थाहा नहुँदा पनि थुप्रै मानिस ठगिइरहेका हुन्छन् । रङबारे जानकारी लिन रङसम्बन्धी विज्ञको सल्लाह लिन सकिन्छ । पछिल्लो समय इन्टेरियर डिजाइनरले घर र कोठालाई सुहाउने रङ छनोट गरिदिने गरेका छन् । 

कतिपयले मूल्य हेरेर रङबारे निर्णय गर्ने गरेका छन् । सस्तो र कम गुणस्तरको रङ खरिद गरियो भने एउटै भित्तामा दोहो¥याई–तेह¥याई रङ लगाउनुपर्ने स्थिति आउन सक्छ । गुणस्तरहीन रङ खासै आकर्षक देखिँदैन र लामो समय टिक्दैन । 

रङ के हो ?

रङ चार किसिमका अवयवको मिश्रण हो । जसमा पिग्मेन्ट्स (रङ द्रव्य÷रंगाउने तत्व), रेसिन (राल÷चोप÷गुद), सल्भेन्ट्स (ठोस पदार्थ घुलाउने तरल), एडिटिभ (कुनै चीजलाई सुधार्न थपिने पदार्थ) पर्छन् । 
पिग्मेन्ट्स भनेको रङ हो भने रेसिन भनेको त्यसलाई टाँस्ने चोप हो । यस्तै सल्भेन्ट्सले रङलाई तरल बनाई लगाइसकेपछि सुक्नको लागि वाष्पीकरण गराउँछ । एडिटिभले रङमा सुधार ल्याउने काम गर्छ । 

सस्तो खालको कमसल पेन्टमा सल्भेन्टको मात्राको प्रतिशत उच्च हुनाले रंगाउने तत्व (पिग्मेन्ट्स) र रेसिन कम रहने गर्छ । त्यसैले सस्तो पेन्ट प्रयोग गर्दा सल्भेन्टको मात्रा बढी भई त्यो सुकेर वा वाष्पीकरण भएर जान्छ । र, रङकोे चमक थोरै रहेर फिक्का देखिन्छ । यसै कारण भित्तामा रङ राम्रोसँग देखिन तीनचार पटकसम्म लगाउनुपर्ने हुन्छ । त्यसैले गुणस्तरीय रङ किन्नुहोस्, जसको उत्पादनमा ४५ प्रतिशत पिग्मेन्ट र रेसिन राखिएको होस् । 

अहिले नेपाली बजारमा बर्जर, एसियन, कन्साई नेरोल्याक, पशुपति, ड्युलक्स, जस्मिन, शालिमार, रिलायन्स, इम्पेरियो, एपोलो, फेसनलगायत रङ चलेका छन् । यी कम्पनीले विभिन्न गुणस्तरका रङ उत्पादन गर्छन् । 

रङका प्रकार 

बजारमा पाइने रङ दुई प्रकारका हुन्छन् । काठमाडौँ, पुरानो बानेश्वरस्थित पशुपति पेन्ट्सका डिलर मनीष श्रेष्ठ वाटर बेस्ड र अइल बेस्ड दुई किसिमका रङ हुने बताउँछन् । ‘वाटर बेस्ड पेन्टमा सल्भेन्टको रूपमा पानी हुन्छ,’ उनी भन्छन्, ‘यस प्रकारको रङलाई सामान्यतया ल्याटेक्स पनि भनिन्छ । धेरैजसो वाटर बेस्ड पेन्ट एक्रिलिक एसिडबाट बन्ने भएकोले यसलाई एक्रिलिक ल्याटेक्स पनि भनिन्छ ।’ ‘अइल बेस्ड पेन्ट भन्नेबित्तिकै धेरैले तेलबाट बनेको रङ भनेर बुझ्छन्,’ श्रेष्ठ थप्छन्, ‘यो तेलबाट बनेको नभई यसमा सल्भेन्टको रूपमा मिनरल स्प्रिट रहेको हुन्छ । जसलाई अल्किड रेसिन पनि भनिन्छ । यसले रङलाई चिपिक्क टाँस्ने र चम्किलो बनाउने काम गर्छ ।’

अइल बेस्ड-अल्किड पेन्टलाई मिनरल स्प्रिट (थिनर) ले पातलो बनाएर घुलाउँछ । वाटर बेस्ड-ल्याटेक्स पेन्टलाई पानीले पातलो बताएर घुलाउने गर्छ । 

वाटर बेस्ड-ल्याटेक्स पेन्ट

वाटर बेस्ड पेन्ट घरको कुनै पनि संरचनामा वा भागमा प्रयोग गर्न सकिन्छ । रङ विक्रेता श्रेष्ठका अनुसार काठमाडौँका धेरैजसो घरमा वाटर बेस्ड पेन्ट प्रयोग गरिन्छ ।

  •  यो रङ लगाइसकेपछि साबुनपानीले पनि सफा गर्न सकिन्छ
  • यो रङ वातावरणमैत्री हुन्छ । यसमा थोरै मात्रामा भोलेटाइल अर्गानिक कम्पाउन्ड ( भीओसी) रहेको हुन्छ । भीओसी भनेको एउटा यस्तो रसायन हो, जसमा कोठाको तापक्रममा उच्च बाफको दबाब हुन्छ र कम पानी घुल्ने क्षमता हुन्छ । अर्थात् यसले पानी सोस्ने काम गर्छ ।
  • उत्कृष्ट गुणस्तरको हुन्छ
  • चिस्यान र ओस रोक्ने काम गर्छ
  • लगाइसकेपछि छिटो सुक्छ

अइल बेस्ड-अल्किड पेन्ट

रङ विक्रेता मनिष श्रेष्ठका अनुसार अइल बेस्ड पेन्ट सामान्यतया घरको सबै भागमा प्रयोग गरिँदैन । कुनै समय घरको बाथरुम र अन्य ओसिलो भागमा यो रङ प्रयोग गरिनु उत्तम मानिन्थ्यो । यसको चमक उच्च हुने, धुन-सफा गर्न सजिलो हुने र पहिलेको वाटर बेस्ड पेन्टभन्दा अधिक टिकाउ हुने भएकोले त्यस्ता क्षेत्रमा यसको प्रयोग रुचाइन्थ्यो । तर, प्रविधिमा भएको विकाससँगै अहिलेका धेरै वाटर बेस्ड पेन्ट पनि अइल बेस्ड पेन्ट जत्तिकै टिकाउ र उत्कृष्ट हुने गरेका छन् ।

वाटर बेस्ड पेन्टभन्दा यो पेन्ट सुक्न बढी समय लाग्छ । यो रङ लगाउँदा ब्रसको चिन्ह वा दाग देखिने सम्भावना कम हुन्छ । यस किसिमका रङ काठका सामान, फलामका रेलिङ, बार आदिमा प्रयोग गर्नु उचित हुने श्रेष्ठ बताउँछन् । भन्छन्, ‘यो पेन्ट वाटर बेस्ड पेन्टभन्दा महँगो हुन्छ । नसुकुञ्जेल कडा गन्ध आउँछ । भीओसीको मात्रा बढी हुन्छ । सफा गर्नको लागि रासायनिक पदार्थ (मिनरल स्प्रिट, थिनर, तारपिन तेल) चाहिन्छ ।’

इन्टेरियर र एक्सटेरियर पेन्ट 

नेपाली बजारमा दर्जन हाराहारी ब्रान्डका रङ पाइन्छन् । सबै ब्रान्डका इन्टेरियर (भित्र) र एक्सटेरियर (बाहिर) लगाउनका लागि फरक–फरक विशेषताका रङ छन् । अधिकांश नेपाली पेन्ट्स कम्पनीले इमल्सन, प्राइमर, उड एन्ड मेटल कटिङ, इनामेल, पुट्टीलगायत भेरियन्टका रङ उत्पादन र बिक्री गर्दै आइरहेका छन् । यी रङ विभिन्न नामबाट बिक्री हुने गरेका छन् । 

एसियन पेन्टको भित्र लगाउनका लागि एस इमल्सन, एपेक्स इमल्सन, एपेक्स अल्टिमा, एपेक्स अल्टिमा मेटालिक्स, एपेक्स प्रोटेक्ट बेस कोट र भित्र लगाउनका लागि ट्रयाक्टर इमल्सन, अप्कोलाइट प्रिमियम, रोयल लक्जरी, रोयल साइन, रोयल अस्पिरा, रोयल हेल्ट सिल्डलगायत रङ छन् । 

ब्रर्जर पेन्टको एक्सटेरियरमा वाल मास्टा, वेदर कोटर स्मुथ, वेदर कोट अल गार्ड, वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट लङ लाइफ र इन्टेरियरमा बिसोन इमल्सन, इजी क्लिन, इजी क्लिन एक्सपी, सिल्क लक्जरी, सिल्क ब्रेथ इजी, सिल्क ग्ल्यामरलगायत रङ उपलब्ध छन् । पशुपति पेन्ट्सका एक्सटेरियरमा एक्सकट प्लस, एक्सकट, नेपोलिन र इन्टेरियरमा लक्जरिया इकोसेफ, लक्जरिया, वान वे, नेपोलियनलगायत रङ रहेको विक्रेता श्रेष्ठ बताउँछन् । डुलक्स ब्रान्डमा एक्सटेरियरतर्फ वेदरसिल्ड पावर फेलेक्स, वेदरसिल्ड माक्स, वेदरसिल्ड प्रोटेक्ट, प्रमिस एक्सटेरियर र इन्टेरियरतर्फ भेल्भेट टच डाइमन्ड ग्लो, भेल्भेट टच पर्ल ग्लो, सुपर लभर, प्रमिस इन्टेरियरलगायत रङ उपलब्ध छन् ।

कन्साई नेरोल्याक पेन्ट्समा भित्र लगाउनका लागि २४ क्यारेट प्रिमियम लक्जरी, ब्युटी गोल्ड, लिटल मास्टर, लोटस टच र बाहिरका लागि भने एक्सेल टोटल, एक्सल, सुरक्षा प्लसलगायत रङ छन् । जस्मिन पेन्ट्समा भित्र लगाउन होम एन्ड ट्राइम प्रिमियम लक्जरी इमल्सन, मोजोलिका इन्टेरियर इमल्सन, मयुर इन्टेरियर इमल्सन र बाहिर लगाउनका लागि जस्मिन एक्सटेरियर कुल पेन्ट्स, रोयल ग्लेज एक्सटेरियर इमल्स, वेदर केयर एक्सटेरियर इमल्सनलगायत छन् । 

यी ब्रान्डका भित्र र बाहिर लगाउने रङ वाटर र अइल बेस्ड दुवै किसिमका छन् । 

रङको चमक

उचित पेन्ट छनोट गर्दा ध्यान दिनुपर्ने कुरा रङको चमक पनि हो । सामान्यतया रङको चमक चार प्रकारको हुन्छ ।

  • फ्ल्याट
  • एगसेल अथवा स्याटिन
  • सेमी–ग्लस
  • ग्लस

फ्ल्याटः फ्ल्याट पेन्टमा चमकको मात्रा कम हुन्छ । तर, रङ लगाउँदा सानातिना खोपिल्टालाई राम्रोसँग पुर्ने काम यसले गर्छ र रङ लगाइएको भागमा भड्किलो चमक रहँदैन । यसलाई सफा गर्न वा धुन भने मिल्दैन । यो रङ लगाइएको भागमा भिजेको कपडा वा स्पन्जले घोट्दा÷पुछ्दा रङ उप्किएर कपडामै आउन सक्छ । त्यसैले फ्ल्याट पेन्ट घरको सिलिङमा प्रयोग गर्ने गरिन्छ ।

एगसेल-स्याटिनः यस किसिमका रङमा चमकको मात्रा मध्यम हुन्छ । यसले पनि नमिलेको सतहलाई पुर्ने काम गर्नुको साथै ठिक्कको चमक उत्पन्न गराउँछ । यसलाई पनि धुँदा उप्किने वा खुइलिने हुँदा घरको भान्सा र बाथरुमबाहेक अन्य जुनसुकै कोठाको भित्ता र सिलिङमा लगाउन सकिन्छ । 

सेमी–ग्लसः यस प्रकारको रङलाई भान्सा, बाथरुम लगायतमा प्रयोग गरिन्छ । जहाँ धेरै चिसोपन र ओस आउन सक्छ । त्यसबाहेक घरको जुनसुकै भागमा पनि यो रङ लगाउन सकिन्छ । 
ग्लसः ग्लस पेन्ट काठका सामान ढोका, ¥याक र फलामका बार, गेट, रेलिङमा प्रयोग गरिन्छ । किनकि, यसको चमक उच्च हुन्छ र पानीले धुँदा वा भिज्दा पनि यसलाई असर गर्दैन । 
 

कस्तो पेन्ट लगाउने ?

नेपालमा स्वदेशी र विदेशी गरी दर्जनभन्दा बढी ब्रान्डका रङ पाइन्छन् । ब्रान्डअनुसार मूल्य र गुणस्तर फरक–फरक हुन्छ । ग्राहकले आफ्नो आवश्यकता, बजेट र प्रयोजन हेरेर एक्सटेरियर र इन्टेरियर भागमा लगाउने रङ छनोट गर्न सक्छन् । एक्सटेरियर पेन्ट्सले घरको बाहिरी भागलाई घाम–पानी र चिसोबाट जोगाउन सक्नुपर्छ । यस्तै, घरभित्र इन्टेरियर इमल्सन लगाउनुपर्छ । झ्याल, ढोका, रेलिङलगायत काठ र धातुमा इनामेल लगाइन्छ । 

एक लिटरले कति कभरेज गर्छ?

बजारमा पाइने विभिन्न ब्रान्डका एक्सटेरियरमा इमल्सन पेन्ट्स लगाउँदा एक लिटरले ५० देखि ९५ वर्गफिटसम्म रंगाउन सकिन्छ । इन्टरेरियरमा एक लिटर इमल्सनले ६५ देखि १५५ वर्गफिटसम्म रंगाउन मिल्छ । डिसटेम्परले ५५ देखि ८० वर्गफिटसम्म रंगाउन मिल्छ । काठ र मेटलमा इनामेल लगाउँदा १ लिटरले ९० देखि १२५ वर्गफिटसम्म रंगाउन सकिने रङ विक्रेता श्रेष्ठ बताउँछन् ।